हाजिरीजवाफ प्रतियोगिताका नियम तथा सर्तहरूः
यस प्रतियोगिताको लागि दर्ता गर्नुभएपछि तपाईं यी नियम र सर्तहरूमा स्वतः सहमत हुनुभएको ठहरिने छ।
दर्ता अनिवार्य: प्रतियोगिताको लागि दर्ता नगरेमा सहभागीहरूलाई मान्यता दिइनेछैन। कृपया समयमै नाम दर्ता गर्नुहोस्।
अन्तिम मिति: नाम दर्ता गराउने अन्तिम मिति २०८३ भदौ १५ (३१ अगस्ट २०२६) सम्म मात्र रहनेछ।
भाषा र माध्यम: मेगा बाइबल हाजिरीजवाफ प्रतियोगिता—२०२६ अनलाइन माध्यमबाट नेपाली भाषामा सञ्चालन गरिनेछ।
प्रतियोगितामा भाग लिन सहभागीले निम्न मापदण्डहरू पूरा गर्नुपर्नेछ:
- सहभागीहरू अनलाइन मार्फत व्यक्तिगत रूपमा सहभागिता जनाउनु पर्नेछ।
- सहभागीहरू ख्रीष्टियन हुनुपर्नेछ।
- नेपाली भाषा पढ्न, लेख्न, बोल्न र बुझ्न सक्ने हुनुपर्नेछ।
- नेपाल बाहेक अन्य देशमा बसोबास गर्ने इसाई विश्वासीहरू पनि सहभागी हुन सक्नेछ।
प्रवेश शुल्क: यस प्रतियोगितामा सहभागी हुन कुनै पनि शुल्क लाग्ने छैन।
पाठ्यक्रम: लिखित प्रश्नहरू– मत्तीको सुसमाचार, पहिलो र दोस्रो कोरिन्थीबाट हुनेछ भने, अडियो र भिडियोको प्रश्न ढाँचा पनि समावेश गरी सोधिनेछ। सहभागीहरूले Aawaznepali युट्युब च्यानल वा Bible.is एपबाट अडियो तथा भिडियोहरू हेर्न र सुन्न सक्नुहुनेछ। आवश्यक सामग्रीका लिङ्कहरू दर्ता पृष्ठमा उपलब्ध गराइएको छ।
अन्तिम निर्णय: क्विज मास्टरको निर्णय नै अन्तिम र सर्वमान्य निर्णय हुनेछ। विजेता चयनको सम्बन्धमा कुनै पनि किसिमको स्पष्टीकरण वा पत्राचारलाई मान्यता दिइने छैन।
इन्टरनेट जडान: सबै सहभागीहरूको लागि इन्टरनेटको पहुँच अनिवार्य हुनेछ। इन्टरनेट जडान, गति वा सिग्नलमा समस्या आएमा कुनै थप समय वा अवसर दिइने छैन।
आयोजकको जिम्मेवारी: बिजुली काटिने वा इन्टरनेटको समस्याका कारण सहभागी हुन नसकेमा आयोजक जिम्मेवार हुने छैन।
अनलाइन सहभागी हुने लिङ्क: दर्ता भएका सहभागीहरूले आफ्नो ह्वाट्सएप (WhatsApp) नम्बरमा जुम लिङ्क प्राप्त गर्नेछन् र तोकिएको समयमा उक्त लिङ्क मार्फत प्रतियोगितामा जोडिने जिम्मेवारी सहभागीकै हुनेछ।
लिङ्क साझा गर्न निषेधाज्ञा: सहभागीहरूले कार्यक्रमको लिङ्क अरूलाई पठाउन पाउने छैन। यदि कसैले लिङ्क साझा गरेको पाइएमा, सम्बन्धित सहभागीलाई प्रतियोगिताबाट निष्कासित गरिनेछ।
योग्यता पुष्टि: यदि कुनै विजेताले माथि उल्लेखित मापदण्डहरू पूरा नगरेको पाइएमा, उसलाई पुरस्कारका लागि अयोग्य ठहर्याइनेछ। यस सम्बन्धमा कुनै पनि विवाद वा दाबी स्वीकार गरिने छैन।
प्रमाणिकरण: विजेताहरू घोषणा भएको ५ दिनभित्र आयोजकले मागेका आवश्यक कागजात वा परिचयपत्रहरू प्रमाणिकरणको लागि बुझाउनुपर्नेछ।
पुरस्कार वितरण: सबै आवश्यक कागजात बुझाएको ३० दिनभित्र विजेताहरूलाई पुरस्कार प्रदान गरिने छ। यदि विजेताले उक्त समयमा पुरस्कार ग्रहण नगरेमा वा लिन नआएमा, पुरस्कार स्वतः रद्द हुनेछ। (काठमाडौं बाहिरका लागि ४५ दिनसम्मको समयावधि निर्धारण गरिएको छ। )
सट्टापट्टा निषेध: पुरस्कारहरू 'साट्न वा फिर्ता गर्न' पाइने छैन (No Exchange, No Refund)।
स्वामित्व: कार्यक्रमका सबै अधिकार, डिजाइन र ढाँचाहरू आयोजकमा सुरक्षित छन्।